राजनीति

अहिलेसम्म पीडितलाई न्यायको अनुभूति गराउन क्रियाशील छु- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार उल्लंघनका दोषीलाई कारवाही  गर्न सरकार सक्षम रहेको बताएका छन । ७१औं विश्व मानव अधिकार दिवसको अवसरमा आज(मंगलबार) शुभकामना सन्देश दिँदै मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय रहेको उनले बताए ।

‘मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धता अनुरुप द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराइनेछ।’, उनले सन्देशमा भनेका छन्।

संविधान तथा कानूनद्वारा संरक्षित मानव अधिकारहरुलाई जनताले दैनिक जीवनमा वास्तविक रुपमा महसुश गर्ने वातावरण सिर्जना गर्न नीतिगत व्यवस्था, आवधिक योजना, बजेट, कार्यक्रम तथा राष्ट्रिय कार्ययोजनाको तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको संरचनात्मक माध्यमबाट प्रत्याभूत गर्ने व्यवस्था मिलाइने उनले बताए।

मानवाधिकारमैत्री संस्कृतिको निर्माण गरी संस्थागत गर्न सरकारको मात्र पर्याप्त भूमिका नरहने बताउँदै उनले त्यसका लागि समाजका सबै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिए । सरकारले मानवाधिकारको प्रवर्द्धनका लागि आधारभूत वातावरण निर्माण गर्न सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेको उनले सन्देशमा बताएका छन् ।

सन्देशमा उनले आफूले राजनीतिक जीवन शुरु गरेदेखि अहिलेसम्म आफूले बोकेका, अपनाएका र पक्षपोषण गरेका तथा पृष्ठपोषण गरेका मान्यता संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित रहेको उल्लेख गर्दै आफू ती लक्ष्य प्राप्त गर्न क्रियाशील रहने बताएका छन् ।