आर्थिक

सुर्तीजन्य पदार्थ विद्यालय वरपर बिक्री वितरणमा निषेध

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान शुरु गरेको छ । ययक्रममा नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरुआत गरेको छ ।

नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नं ११ पात्लेखेत र वडा नं ७ सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ । चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ ।

वडा नं ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला पारेका चुरोट र सुर्तीजन्य पदार्थ नियन्त्रण नगरी सचेत गराई रोक लगाउनुपर्ने बताइन् । व्यवसायि भरतकुमार धितालले अनुगमनको क्रममा पहिलोपटक सचेत मात्रै गराएर फेला पारेका सुर्तीजन्य सामग्री फिर्ता हुनुपर्ने माग गरे । 

अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स साना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको बताए । सो क्रममा टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दामुनिका बालबालिकालाई विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ ।

नगर उपप्रमुख शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन गरेको थियो । नगर उपप्रमुख शर्माले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यसक्रममा विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरिएको बताइन् ।

उनले भने “अनुगमनका क्रममा हामीले विद्यालय र कलेज आसपासमा विद्यार्थीलाई लतमा पार्ने खालका सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले त्यस्तो वस्तुमा रोक लगाउन नगरपालिकाले अनुगमन शुरु गरेका हौँ ।”