आर्थिक

चापाकोट देउराली सांस्कृतिक महोत्सवको तयारी

पोखरा । पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।

पोखराबाट १३ किलोमिटर पश्चिमतर्फ रहेको उक्त ठाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक घरवास र पोखरा महानगरपालिका वडा नं २३ ले संयुक्तरूपमा महोत्सव गर्न लागेका हुन् ।

महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुतिका साथै नौमतीबाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता गरिने छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः रु ३०, २०, १० र पाँच हजार नगदसहित पुरस्कृत गरिने पराजुलीले बताएका छन् ।

चापाकोट देउराली सामुदायिक घरवास फेवाताल किनार हुँदै ४५ मिनेटको सडकयात्राबाट पुग्न सकिन्छ । पैदलयात्रा गर्दै जाने हो भने घरवास पुग्न करीब अढाइ घण्टा लाग्छ । प्राकृतिक र सांस्कृतिकरूपमा सम्पन्न भए पनि ओझेल परेका चापाकोट, हर्पन, चैनपुरलगायत क्षेत्रको उचित प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको हो ।

यहाँका २५ घरमा घरवास सञ्चालन गरिएको र सबैमा महोत्सवका बेला पर्यटक बस्ने व्यवस्था मिलाइएको चापाकोट देउराली सामुदायिक घरवासका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिएका हुन् । तीन सय घर रहेको चापाकोटामा २५ घरमा सञ्चालित घरवासमा करीब १५० पाहुनालाई राख्न सकिने र घरवास विस्तारै थप्दै जाने योजना रहेको उनले बताए ।

महोत्सवबाट रु १५ लाख आम्दानी गर्ने र रु १४ लाख ३० हजार खर्च हुने आयोजकको अनुमान गरिएको छ । बचत रकमबाट भ्यूटावर निर्माण तथा संस्कृति र स्थानीय झरनाको संरक्षणलगायतका काम थालनी गर्ने योजना राखिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने महोत्सवमा स्थानीय लप्सी, तरुल, दमौरा, महलगायतका स्थानीय उत्पादनका मात्रै कक्ष राखिने आयोजकले जनाएको छ ।