अन्तर्राष्ट्रिय

तान्जेनियामा पाँच हजार ५०० कैदी जेलमुक्त

दारेसलाम, २३ मङ्सिर । तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिनुभएको छ । अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उहाँले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिनुभएको हो ।

अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गर्नुभएको बताइएको छ । तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उहाँले सयौँ कैदीहरुलाई आम माफी दिनुभएको हो ।

“जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,” उहाँले भन्नुभयो ।

यो आम माफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उहाँले व्यक्त गर्नु भएको छ । राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आउनुभएको हो । उहाँ भ्रष्टाचार विरोधी लडाकू मानिनुहुन्छ ।

तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ । अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ ।