खेलकुद

आजको साग खेलकुद (तस्विरसहित)

२३ मंसिर, पोखरा । आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।

आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे । खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो । मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे ।

मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहनुभएका मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सकेनन् । आँखाभरी आँशु पार्दै उनले नेपाली खेलाडीलाई मेडल वितरण गरिन् ।