पर्यटन/संस्कृति

जहाज सञ्चालकलाई मन्त्री भट्टराई भन्छन्ः भ्रमण वर्षमा विशेष छुट, प्याकेजका कार्यक्रम ल्याउनुस्

काठमाडौं । हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ ।

सङ्घ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा सङ्घका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेका थिए ।

मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उनको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री र सङ्घका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको प्रतिबद्धता जनाएका थिए । छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारेमा धारणा राखेका थिए।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई नेपाल भ्रमण वर्षका सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए । यसैगरी उनले भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए । सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भ्रमण वर्ष अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मागसमेत राखेका थिए । यसैगरी काठमाडौँदेखि रामेछापसम्मको सडक स्तरोन्नतिका लागि अनुरोध गरे । सङ्घका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालीका योगराज कँडेल शर्मालगायतले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा कम्पनीको सहयोग रहने बताएका थिए। विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसका विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक सङ्घ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी थिए । पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा छलफललाई तीव्र बनाएका छन् । उनले यही मङ्सिर १८ गते नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग नेपाल भ्रमण वर्षबारे छलफल गरेका थिए । यसैगरी यही मङ्सिर १९ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनवर्गीय सङ्गठनका अध्यक्षसँग छलफल गरेका थिए ।