समाचार

जङ्गली हात्तीको आतङ्कबाट जोगिन अन्तरक्रिया

भद्रपुर, २३ मङ्सिर । बस्तीमा पसेर हात्तीले धनजनको ठूलो क्षति पु¥याउने गरेकाले यसको नियन्त्रणका लागि यहाँका बासिन्दाले तालीम प्राप्त र दक्षजनशक्ति परिचालन गर्न सरकारसंग माग गरेका छन् ।

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी जङ्गली हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकामा हात्तीको उपद्रो रोक्न आज सरोकारावाला निकायसँग आज यहाँ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले हात्तीको आतङ्कबाट जोगिनका लागि हात्ती आएको सूचना स्थानीय बासिन्दालाई दिने प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औल्याएक थिए ।

नगरका १५ वटा वडामध्ये ८ र १० बाहेक १३ वटा वडामा जङ्गली हात्तीले दैनिकजसो उपद्रो गर्दै आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि, डिभिजन वन कार्यालय झापासहितको टोलीसँग अन्तरक्रिया गरी यसको दीर्घकालीन समाधानका बारेमा छलफल भएको थियो ।

सो अवसरमा नगरपालिकाका प्रमुख विमल आचार्यले दैनिकजसो आउने जङ्गली हात्तीले स्थानीयवासीको घर भत्काउने, अन्नबाली खाइदिने, ज्यान बचाउनका लागि दैनिक जाग्राम बस्नुपर्ने स्थिति रहेको बताउँदै यसको नियन्त्रणका लागि तालीम प्राप्त र दक्षजनशक्ति परिचालन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयसँग आग्रह गरे ।

उनले हात्तीको आतङ्कबाट जोगिनका लागि जनता तटबन्धन कार्यक्रम र चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको पनि बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले हात्तीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न पटकपटक धेरै उपाय अवलम्बन गरिए पनि नसकिएको बताए । उनका अनुसार झापाकै सामुदायिक वनमा रहेका १३ वटा रैथाने जङ्गली हात्तीले स्थानीयलाई दुःख दिइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि वीरेन्द्र गौतमले जङ्गली हात्तीलाई रोक्न बाहुनडाँगी क्षेत्रमा लगाइएको विद्युतीय तारवार मर्मत तथा सम्भारका लागि प्राविधिकसँग सहकार्य गरेर स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम तथा तालीम प्रदान गरिने बताए ।

हात्तीले स्थानीयवासीको घर भत्काएर र भण्डारण गरेको अन्नपात खाएर क्षति पु¥याएको पीडितको भनाइ थियो । रातैपिच्छे हात्ती गाउँ पसेर दुःख दिन थालेपछि विशेष गरी वृद्घवृद्घा र स–साना केटाकेटी भएका घरमा भने धेरै समस्या पर्ने गरेको उनीहरुको भनाइ छ ।

जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले–३ दुधेदेखि झापाको मेचीनगर–६ सम्म १८ किलोमिटर दूरीमा विद्युतीय तारबार निर्माण गर्नुअघि नेपाल छिरेका ती हात्ती भारत फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको कोषका प्रतिनिधि गौतमको भनाइ छ । छलफलमा नगरका सबै वडाका वडाध्यक्ष, विभिन्न सामुदायिक वनका प्रमुख प्रतिनिधि, महासङ्घका पदाधिकारीको सहभागिता थियो ।