समाचार

पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता

काठमाडौँ, २३ मङ्सिर । नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारिता अघि बढाइने भएको छ । उक्त प्रयोजनका निम्ति प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

सम्झौताअनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु, अनुसन्धानमार्फत आवश्यक ज्ञान तथा तथ्य सम्प्रेषण र वितरणलगायत मानव संसाधन विकाससम्बन्धी तालिम तथा कार्यशाला आयोजना गरिने जनाइएको छ ।

कोट्रीसँग रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने सहमति भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले बताउनुभयो । उहाँका अनुसार यही मङ्सिर २० गते भारतको नयाँदिल्लीमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका प्रमुख कार्यकारी (सिइओ) प्रोफेसर डा वल्फ ग्याङ्गले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीका तर्फबाट हेडअफ सेल्स नवीनकुमार सहभागी थिए । कोट्री चाइनाको आउट बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवं प्रख्यात अनुसन्धान संस्था हो ।

पाटा नेपालद्वारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चीन) मा रहेको बृहत् अवसर र सम्भाव्यतालाई उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाइना एक्सपो) देखि शुरुआत भई निरन्तर अगाडि बढ्ने बताए ।