पत्रपत्रिका

उपनिर्वाचन समीक्षा प्रतिवेदन पेस गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन समीक्षा प्रतिवेदन पनि पेस गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । भक्तपुरको प्रदेशसभा, धरानको उपमहानगरपालिका, चितवन, दाङलगायत कतिपय जित्ने अनुमान गरिएका वडामा नेकपा उम्मेदवार पराजित भएका थिए ।

नेकपाले उपनिर्वाचनको सूक्ष्म समीक्षा गर्ने भन्दै ३७ वटै जिल्लाका ५२ स्थानकै समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन गरेको थियो । उपनिर्वाचन भएका स्थानका पार्टी कमिटीले तयार पारेको समीक्षात्मक प्रतिवेदन जिल्ला हुँदै केन्द्रमा आइपुगेका छन्।

जिल्ला हुँदै सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका छन । त्यसमा पनि सचिवालय बैठकमा छलफल हुने नेताहरूको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताएका छन् ।

पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले दाहालले आफ्नो प्रस्तावबारे ओली र महासचिव पौडेलसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए । खुमलटारस्थित निवासमा बिहान पनि महासचिव पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, देवेन्द्र पौडेललगायत नेतासँग उनको कुराकानी भएको थियो ।

‘सोमबारको सचिवालय बैठकमा संगठन विभागले पेस गरेको प्रस्ताव, स्थायी समिति बैठक बोलाउने गरी मिति निर्धारण गर्नेदेखिका प्रस्तावमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । यस्तै अध्यक्ष दाहालले पार्टी कामको ६ महिने रूपरेखा तयार पारेका छन् ।

यससम्बन्धी प्रस्ताव सोमबार आज बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए। ४ मंसिरको सचिवालय बैठकले ‘कार्यकारी’ अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेताहरूसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रूपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए ।

दाहालले पहिलो पटक कार्ययोजना प्रस्ताव पेस गर्न लागेका हुन । यसअघि उनीसहित ओलीले गत वर्ष स्थायी समिति बैठकमा संयुक्त रूपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यसबारे छलफल भए पनि कार्यायोजना भने संगठनात्मक एकतामा ढिलाइका कारण अलपत्र परेको थियो ।

गत वर्ष मंसिर २९ देखि पुस १३ सम्म स्थायी समिति बैठक बसेको थियो । त्यसयता स्थायी समिति बसेको छैन । केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक मात्र बसेको छ । दाहालको प्रस्तावमा तीन महिनामा पार्टी सदस्यता नवीकरण गरी केन्द्रमा अभिलेखीकरण गर्नेलगायत विषय समेटिएका छन् ।

‘केन्द्रीय विभाग, जनवर्गीय संगठनमा नेतृत्व मात्र चयन भएको छ । ती सबैको कमिटीलाई पूर्णता दिने, वैचारिक राजनीतिक काम तल्लो तहसम्म एकैसाथ लैजाने, प्रशिक्षणदेखि संगठनात्मक काम, बैठक÷भेलाका काम गर्नुपर्नेछ’, नेता सापकोटाले भने, ‘जनपरिचालनका काम पनि गर्नुपर्नेछ। यी विषय अध्यक्षको प्रस्तावमा समेटिन्छन् ।

मंसिर अन्तिममा स्थायी समिति बैठक, त्यसलगत्तै केन्द्र्रीय समिति बैठक बोलाउने अनि माघ–फागुनमा दुईमहिने विशेष राजनीतिक अभियान चलाउने योजना प्रस्तावमा समेटिएको अर्का एक नेताले बताए ।  पार्टी एकताको सन्देश जनतामाझ र्पुयाउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न दुईमहिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने प्रस्ताव दाहालको छ ।

वैचारिक र भावनात्मक एकतालाई खदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम दाहालले कार्यायोजनामा समेटेका छन । केन्द्रीय निकाय, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटीलाई पूर्णता दिने, जनवर्गीय संगठनको केन्द्रदेखि स्थानीय तहसम्मका काम, पार्टी सदस्यता अध्यावधिक र एकीकृत अभिलेख राख्नेदेखि पार्टीका चलअचल सम्पत्ति केन्द्रिकरण गर्नेसम्मका योजना छन् ।

पार्टी स्कुल पाठ्यक्रम तयार पारी सञ्चालन गर्नेदेखि प्रभावकारी प्रचार कार्यसम्मका योजना दाहालले तयार पारेको प्रस्तावमा समेटिएको उनीनिकट स्रोतले बताएको छ ।                                                           

 

                                                                                                                      अन्नपुर्णबाट लिएको