समाचार

सागको समापनका दिन भोली काठमाडौंका विभिन्न सडकमा जोर नम्बरका गाडी चल्ने

काठमाडौं । भोली (मंगलबार) काठमाडौं उपत्यकाका विभिन्न सडकमा जोर नम्बरका गाडी चल्ने भएका छन् । नेपालमा जारी १३ औं सागको उद्घाटनको समय बिजोर नम्बरका गाडी चलाईएको र समापनका दिन जोर नम्बरका गाडी चलाउने प्रहरीले बताएको छ ।

साग प्रतियोगिताको समापनका दिन (मंगलबार) भोली ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको बताईएको छ । उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यसका साथै ठूला मालवाकह सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि उसले आग्रह गरेको छ । दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ ।

समापनका दिन सकेसम्म सवारी साधन नै ननिकाल्न र निकाल्नै पर्ने भए वैकल्पिक मार्गको प्रयोग गर्न पनि उसले सुझाव दिएको छ । समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्नु पर्ने व्यवस्था मिलाइएको छ ।