अन्तर्राष्ट्रिय

इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा

एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो ।

बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ । बजेटको घोषणा गर्दै राष्ट्रपति रौहानीले बजेटबाट गत महिना इन्धनमा गरिएको मूल्यवृद्धिलाई लिएर आन्दोलनमा रहेका इरानी जनतालाई राहत दिने विश्वास व्यक्त गरे ।

संसदमा बजेटबारे बोल्दै राष्ट्रपति रौहानीले भने, “सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभावलाई कम गर्न चार हजार ८८५ ट्रिलियन इरानी रियल ९ झण्डै ३६ अर्ब अमेरिकी डलर० को ‘प्रतिरोधी बजेट’ ले राहत गर्नेछ ।” उनले भने, “हामीलाई थाहा छ नाकाबन्दी र दवाबका कारण इरानी जनता आर्थिक मन्दीको सामना गरिरहेका छन् । नागरिकको क्रयशक्ति घटेको छ । तर इरानी जनता अमेरिकाविरूद्ध सरकारको कार्यक्रममा प्रतिवद्ध रहनेछन् ।”

तेल निर्यात प्रमुख आम्दानीको स्रोत रहेको इरानमा नाकावन्दीका कारण परेको आर्थिक सङ्कटलाई सहयोग गर्ने उद्देश्यले इन्धनमा व्यापक मूल्यवृद्धि भएको र यसविरूद्ध इरानी जनताले सडकमा प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएका समाचारहरू बाहिरिएका छन् ।

अमेरिकाले सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा अमेरिकालाई कुनै लाभ नभएको भन्दै पुनः सम्झौता गर्न इरानमाथि दवाब दिन नाकावन्दी गरिएको जनाउँदै आएको छ । इरानी अर्थतन्त्रमा पछिल्ला केही बर्षमा परेको प्रभावका कारण इरानले व्यापक मुद्रास्फीतिको सामना गरिरहेको छ ।