समाचार

परम्पराको नाममा निर्दोष पशुको बलि दिइयो : पशु कल्याण सङ्घ

काठमाडौँ, २४ मङ्सिर । पशु कल्याण सङ्घले पूर्वप्रतिबद्धताविपरीत गढीमाईको मन्दिरमा निर्दोष पशुको बलि दिइएकामा गुनासो गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा पशुबलि निरुत्साहन गर्नका लागि ठोस र नतिजामुखी योजना निर्माण गरी प्रभावकारीरुपमा कार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त भएको सन्दर्भमा सयौँ पशुको बलि दिइएकामा आपत्ति जनाएको हो ।

मेला व्यवस्थापन समितिले गढीमाई मेलामा हुने पशुबलि निरुत्साहन गर्नका लागि ठोस र नतिजामुखी योजना निर्माण गरी प्रभावकारीरुपमा कार्य गर्ने प्रतिबद्धता जनाए पनि त्यो प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन नहुनु दुःखद् रहेको सङ्घका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “गढीमाई मेलालाई रक्तपातरहित बनाई गढीमाईको गरिमा विश्वसामु फैलाउने उद्देश्यसहित कार्यरत पशु कल्याण सङ्घ नेपालको अथक प्रयत्नका बाबजुद पनि यस वर्षको मेलामा रगतको खोलो बग्नु हामी सबैका लागि दुःख र दुर्भाग्यपूर्ण कुरा हो ।”

मेला व्यवस्थापन मूल समिति तथा सम्बन्धित सरकारी निकायले बलि नदिने तथा पशुपक्षी संरक्षणका लागि गरेका प्रतिबद्धताको विपरीत अमानवीय र बर्बर पशु हत्याले निरन्तरता पाएको भन्दै सङ्घले सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत चुनौती दिने गरी भएको बलिको सङ्घले निन्दा गरेको छ । सङ्घले मृत जनावरको टाउको गणना गरिएकामा करीब चार हजार राँगाको बलि दिइएको र दशौँ हजारको सङ्ख्यामा अरु पशुपक्षी विशेषगरी बोका र कुखुराको बलि चढाइएको जनाएको छ ।