खेलकुद

बंगलादेशमाथि बलियो जीत हात पार्दै नेपालले गर्यो फाइनलको यात्रा तय

काठमाडौं नेपाल लगातार दोस्रोपटक साग अन्तर्गत पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको छ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज आठौ दिन भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १-० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गरेको हो ।

नेपालले  स्वर्ण पदकको लागि मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।

पहिलो हाफसँगै दबाबमा रहेको बंगलादेशले नेपाललाई निरन्तर दबादमा राख्ने चेष्टा गरि रह्यो । गोलका लागि बंगलादेशले बनाएका आकर्षक मुभ नेपालका डिफेन्डर तथा गोलकिपरले असफल बनाएपछि नेपालले फाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।

३०औं मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाए । यस्तै ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । 

नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ अंकतालिकाको अन्त्यमा रहेका छन् ।