आर्थिक

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

चितवन । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं. – १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।