आर्थिक

नेपाल भ्रमण वर्ष २०२० र पाटा नेपाल च्याप्टरद्धारा नयाँदिल्लीमा पर्यटन प्रवद्धन

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’’ कार्यक्रम सम्बन्धी यही डिसेम्बर ५ तारिखका दिन नयाँदिल्लीस्थित द पार्क होटलमा भारतका करिब ६० वटा प्रमूख ट्राभल व्यवसायी तथा सरोकारवालाहरुबीच प्रवद्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पाटा नेपालका महासचिव विभुतीचन्द ठाकूरले आमन्त्रित अतिथि तथा भारतका विभिन्न सङघ संस्थामा आवद्ध व्यवसायीहरुलाई सम्बोधन गर्दै कार्यक्रम शुरु गरे । पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद व्यक्त गरे । उनले डिसेम्बर ६ मा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘‘टूरिजम पावर हाउस’’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइस सम्बन्धी करिब ४०० भारतका पर्यटन सरोकारवालाहरु समक्ष प्रस्तुति दिए ।

नेपाल भ्रमण वर्ष २०२० का प्रवन्धक रोहिणी खनालले नेपाल सरकारद्धारा घोषणा गरिएको भ्रमण वर्ष लक्षित कार्यक्रम तथा पहलहरुका सम्बन्धमा प्रस्तुती दिए । उनले भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथमिकताहरुबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागि हुन र आ–आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्धनमा सहयोग गर्न आह्वान गरे । त्यसैगरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्धारा आयोजना गरिने कार्यक्रमहरु विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरुको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिए ।

कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्धारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनिय भएको बताए। उनले विश्वका केही मुलुकहरु ‘‘ओभर टुरिजम’’ र कतिपय मुलुकहरु ‘‘अण्डर टुरिजम’’ अवस्था अनुभूति गरिरहेको बेला दिगो पर्यटन विकासका लागि पर्यटकहरुको सन्तुलित वितरण आवश्यक हुने बताउँदै पाटाले विभिन्न मुलुकहरु तथा पाटा च्याप्टरहरुबीच बढी भन्दा बढी सहकार्य र समन्वयलाई जोड दिए। पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारको रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए ।

कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरु (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकतृत एवम् एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताए ।