समाचार

इटहरीको बिगबार होटलमा आगलागी हुँदा करोडौंँको क्षति

इटहरी, २२ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरीको मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सभित्रको बिगबार होटलमा शनिबार मध्य राति १२ बजे आगलागी हुँदा करोडौंँको क्षति भएको छ । इटहरीको पश्चिमलाइनस्थित सो होटलमा विद्युत् चुहिई आगलागी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगलागीबाट रु चार करोड क्षति भएको बिगबारका सञ्चालक किरणकुमार बुढाथोकीले बताए । आगो इटहरी, सुन्दरहरैचा, धरान, इनरूवालगायत नौ वारूणयन्त्रको करीब साढे ३ घण्टाको मेहनतपछि नियन्त्रणमा आएको थियो । चौथो तलामाथिबाट शुरु भएको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुश्किल भएको थियो । पर्यटकलाई लक्ष्य गर्दै सो होटल २०७५ माघदेखि सञ्चालनमा ल्याइएको थियो ।