आर्थिक

सबैको लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभामिति २०७६ मंसिर २१ गते शनिवार डुम्रे, तनहुँमा सम्पन्न भएको छ । उक्त सभाले आ.व. २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गरे पश्चात् संस्थाको चुक्तापुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र  गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् ।

सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । यस कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण सेवाहरु एनआईबिएल एस क्यापिटल लि. ले प्रदान गर्दै आइरहेको समेत कम्पनीले जनाएको छ ।

२०७४ आषाढ ३०गतेबाट तनहुँ जिल्लाको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले २९ जिल्लाहरुमा ५१ शखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँभन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।