समाचार

पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग गर्दै वीरगञ्जमा आन्दोलन जारी

वीरगञ्ज, २२ मङ्सिर । पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–१५ सिर्सियाबासीले थालेको आन्दोलन आज छैठो दिन पनि जारी रहेको छ ।

सुख्खाबन्दरगाह तथा विस्तारका लागि सरकारले बिगत तीन वर्षदेखि रोक्का राखेको सो जग्गाको उचित मूल्याङ्कन गरी बस्ती अन्यत्र सार्दा पूर्वाधारसहितको बस्ती बसाउनुपर्ने माग राख्दै सिर्सियावासीले आन्दोलन गर्दै आएका छन् । सङ्घीय सरकारले जिल्ला मुआब्जा निर्धारण समितिमार्फत खेत भएको जग्गाको प्रतिकठ्ठा रु २४ लाखदेखि रु ४८ लाख तथा घरघडेरी भएको जग्गालाई रु ४८ लाखदेखि रु ५५ लाखसम्म मुआब्जा तोकेपनि सिर्सियाबासीले उक्त दररेट कम भएको भन्दै आन्दोलन गर्दै आएको सङ्घर्ष समितिका सदस्य विजय तिवारीले बताए ।

प्राचीन बस्तीका रुपमा रहेको सो बस्तीमा विद्यालय, अस्पताल, मठमन्दिर, पोखरी, प्रहरी चौकीलगायतका पूर्वाधार रहेकाले सरकारले बस्ती अन्यत्र सारी पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने आन्दोलनकारीको माग रहेको छ । तीन सय घरपरिवार रहेको सो बस्ती ६२ बिघा क्षेत्रफलमा फैलिएको छ भने त्यसमध्ये १५ बिघा क्षेत्रफलमा विभिन्न पूर्वाधार रहेका छन् ।

सङ्घर्ष समितिले चलनचल्ती भाउमा जग्गाको मुआव्जा दिनुपर्ने, पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने माग राखी सिर्सिया बासीले बिगत छ दिनदेखि गर्दै आएको आन्दोलनप्रति पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवलागयतका नेता तथा सङ्घसंस्थाले ऐक्यबद्धता जनाएको छ । सरकारले सुख्खाबन्दरगाह (ड्राईपोर्ट) विस्तारका लागि तीन वर्षदेखि सो ठाउँको जग्गा रोकेर राखेको छ ।