खेलकुद

१३औं सागः महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो ।

पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो । बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक ९ गोलको योगदान दिए । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपे । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरे । शिल्पी अख्तरले चार गोल जोडे । खालेदा सुल्तानाले दुई गोल थपे ।

पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरे । खालिदा रमजानले टोलीका लागि ४ गोलको योगदान गरे । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोडे । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गरे । बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाएकी थिइन् ।