राजनीति

नयाँ जिम्मेवारीसँगै नयाँ रणनीतिमा अध्यक्ष दाहाल: नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल नयाँ रणनीतिका साथ अघि बढेका छन । कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै  अध्यक्ष दाहालले नेकपाका नेतासँग भेटवार्ता गरिरहेका छन । सोहि क्रममा आज(आइतबार) बिहान वरिष्ठ नेता माधव कुमार नेपालसँग एक घण्टा लामो छलफल गरेको स्रोतले बताएको छ ।

नेता नेपालपछि उनले लगत्तै महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।  सचिवालय बैठकका लागि एकता प्रक्रियाका बाँकी काम टुंगाउने, स्थायी कमिटी बैठक र केन्द्रिय समिति बैठक बोलाउने लगायतका एजेण्डा दाहालले तय गरेका छन। मंसिरभित्रै स्थायी समिति र पुष पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने अध्यक्ष दाहालको तयारी छ । नेकपाको स्थायी समिति बैठक लामो समयदेखि बस्न सकेको छैन ।

त्यस्तै बैठकमा पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने कार्यसूचि छ । नेकपाभित्र १ सय ४५ सदस्यीय पोलिटब्यूरो बनाउने भनिए पनि नेताहरुबीच सहमति नजुट्दा त्यसले पूर्णता पाएको छैन ।