अन्तर्राष्ट्रिय

झाँसी रोड आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । भारतको नयाँदिल्लीमा रहेको एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो ।

भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा मजदुरहरू सुतिरहेका थिए । एलएएनजीपी अस्पतालका प्रबन्धक डा.किशोर सिंहले बताएअनुसार हालसम्म ३५ शव अस्पताल पुर्याएको छ भने १५ जना सख्त घाइतेमध्ये केहीको उपचारको क्रममा मृत्यु भएको हो  ।

आगलागी भएपश्चात दमकलको सहायताले अन्य ५६ जनालाई बाहिर निकालिएको थियो, जसमध्ये ४३ जनाको मृत्यु भइसकेको छ । दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार मजदुरहरूको मृत्यु धुँवामा निसास्सिएर भएको उल्लेख गरेका छन् ।

घटनास्थलमा पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दु:ख व्यक्त गर्दै न्यायिक जाँच गर्न आदेश दिएका छन् । साथै उनले मृतकको परिवारलाई १०-१० लाख  मुआब्जा तथा घायल १-१ लाख मद्दत तथा उपचार खर्च व्यहोर्ने आदेश दिएका छन् । यस्तै बीजेपीले पनि मृतकको परिवारलाई ५-५ लाख र घाइतेहरूलाई २५-२५ हजार सहयोग गर्ने वचन दिएको छ । उसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २-२ लाख र गम्भीर घाइते भएकाहरूलाई ५०-५० हजार भारती रुपैयाँ सहयोग गर्ने बताएका छन्  ।