पर्यटन/संस्कृति

भ्रमण वर्षः २०२० सफल बनाउन क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने

काठमाडौं । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ । फाउण्डेशनले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्ना तर्फबाट थप सहयोग पुर्याउने घोषणा गरेको हो ।

अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा स्थापित भएका डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार तथा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले नेपालका बारेमा अध्ययन तथा अनुसन्धान गरिसकेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

पत्रकार नोयलले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कलम चलाउने भएको बताउँदै विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको अनुभव समेत सुनाएका थिए ।

उनले भने, “म नेपाल सन् २०१५ मा पहिलोपटक आएको थिएँ, त्यतिबेला भूकम्प गएको थियो, अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकले अन्नपूर्ण, सगरमाथाका बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन, त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्य पनि पहिचान गर्नुपर्छ ।”

उनले मिडियाले पनि पर्यटकलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नका लागि आकर्षण गराउने गरी फिचर स्टोरीहरु लेख्नुपर्ने सुझाव दिए । उनले नेपालमा धेरै हिमाल रहेकाले ती सबैको आकर्षणका बारेमा प्रचारप्रचार गर्नुपर्ने र विमानस्थललगायतका सुविधाका विषय उल्लेख गरे ।