अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाका आगलागी पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न सहमति

एजेन्सी । संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक ९पिजिई० कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ । गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार घर ध्वस्त भएका थिए ।

उत्तरी क्यालिफोर्नियामा “क्याम्प फायर” नाम दिइएको उक्त डढेलो पिजिई कम्पनीले निर्माण गरेको विद्युतीय प्रशारण लाइनमा आएको गडबडीले भएको आरोप छ । प्रशारण लाइनबाट निस्किएका आगोका झिल्काकै कारण जंगलमा आगो सल्किएको अनुसन्धानबाट खुलेको थियो । अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक मानिएको यस डढेलोबाट ८६ जनाको जलेर मृत्यु भएको थियो ।

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार पिजिई कम्पनीले भुक्तानी गर्नुपर्ने रकमका बारेमा संघीय न्यायाधीशले फेरि सुनुवाई गर्नुपर्ने छ । पीडितको प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्कोको बेकर होस्टेट्लरका वकील रोबर्ट जुलियानले पीडितको पक्षमा भएको फैसलाबाट आफूहरु उत्साहित भएको बताए ।

वन डढेलाका पीडितहरु आफ्ना घर, व्यवसाय र आफन्त गुमाएर ठूलो चोटमा परेको उनको भनाई थियो । पछिल्लो निर्णयबाट पीडितहरुलाई थोरै भए पनि राहत मिल्नेछ । पीडितका तर्फबाट अदालतमा दायर गरिएको मुद्दामा पिजिईका उपकरणहरुकै कारण जंगलमा आगलागी भएको र व्यापक विनाश भएको आरोप लगाइएको छ ।