साहित्य

घिमिरेको ‘कविताको कथा’ लोकार्पित

काठमाडौ । भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरेको ‘कविताको कथा’ कवितासङ्ग्रह आज यहाँ लोकार्पण भएको छ । प्रकृति र मानवीय संवेदनाका विषय समावेश भएको सो सङ्ग्रह लोकार्पण गर्दै प्रा डा वासुदेव त्रिपाठीले कवितामा प्रकृति र धरातलभन्दा पनि मानवीय संवेदनाका विषय बढी समावेश हुनुपर्नेमा जोड दिए ।

देशमा बढेको विभेद र असन्तुलनलाई कविताको माध्यमबाट नैतिक चेतना दिने उद्देश्यले कवि घिमिरेले सङ्ग्रहमार्फत सार्वजनिक गर्नुभएको उनले बताए । साहित्यकार रमेश पौडेलले घिमिरेका कविताले प्रकृति र प्रेमको झलक दिन सफल भएको बताए ।

प्रा दुर्गा दहालले घिमिरेको कवितासङ्ग्रहमा मानिसलाई धर्तीमा बाँच्न र उत्प्रेरणा दिन सहयोग मिल्ने धारणा राखे । डा तुलसी भट्टराईले सङ्ग्रह समयसापेक्ष हुनाका साथै यसबाट सामाजिक विसङ्गति हटाउन मद्दत पुग्ने बताए ।