खेलकुद

नेपालसँग हार व्यहोरेको माल्दिभ्सले गर्यो आफ्नो मुख्य प्रशिक्षकलाई बर्खास्त

Petar Segrt after neapl won, 13th sag

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आज(शनिबार) पुरुष फुटबल अन्तर्गत  नेपालद्वारा पराजीत माल्दिभ्सका मुख्य प्रशिक्षक पिटर सेगर्ट बर्खास्तमा परेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्सको राष्ट्रिय फुटबल टोलीलाई २–१ गोल अन्तरले पराजित गरेसँगै माल्दिभ्स फुटबलले मुख्य प्रशिक्षक सेगर्ट बर्खास्त गरेको खेल विज्ञहरूले बताएका छन् ।

आज भएको फुटबल खेलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो । माल्दिभ्स फुटबलले सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक पिटरलाई बर्खास्त गरेको जनाएको छ ।

Football Association of Maldives

खेलको सुरुवाती चरणमा माल्दिभ्सले लिएको अग्रतालाई नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काएर नेपाललाई राम्रो अवसर दिलाएका थिए । माल्दिभ्सका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।  खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।  त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल गर्यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए । 

यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ ।