खेलकुद

माल्दिभ्सलाई हराएसँगै नेपाल अंक तालिकाको शिर्ष स्थानमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गत नेपाल माल्दिसभ्सलाई हराउँदै फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज(शनिबार) भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको सुरुवाती चरणमा माल्दिभ्सले लिएको अग्रतालाई नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काएर नेपाललाई राम्रो अवसर दिलाएका थिए । माल्दिभ्सका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।  खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।  त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल गर्यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए । 

यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ ।