मनोरञ्जन

भाईरल जोडीको घर बन्ने पक्का, विदेशबाट आयो यति धेरै सहयोग

इलाम । भाइरल जोडी इलाम, चुलाचुली–३ का ६७ वर्षिय सिँहप्रसाद लिम्बु र २१ वर्षिया पुजा लिम्बुको घर निर्माणका लागि सञ्चारकर्मी रूपेन्द्र शेर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

भाइरल भएपनि घरको अवस्था अति दयनीय भएकोले ती जोडीको घर निर्माणका लागि सञ्चारकर्मी र स्थानीय सामाजिक अभियन्ताहरु जुटेका हुन् । टाटीको बेरा र चुहिने छानो भएको घरमा कष्टकर जीवन विताइरहेका भाइरल जोडीको घर निर्माणका लागि सो समिति गठन गरिएको हो ।

सो समितिका सचिवमा वुद्धराज लिम्बु, कोषाध्यक्षमा सुनकुमार नेम्वाङ तथा सदस्यहरुमा सोनु लिम्बु, सञ्चराज एक्तेन, प्रेमकुमार श्रेष्ठ र पुजा लिम्बु रहेका छन् । सो समितिले देश–विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरी भाइरल जोडीको घर निर्माण गर्ने जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट रमेश श्रेष्ठ नाम गरेका युवक सोमबार भाइरल दम्पतिको घर पुगेका थिए । उनले भाइरल दम्पतिको झण्डै २० मिनेट लामो अन्तरवार्ता लिएका छन् । अमेरिकाको क्यालिफोर्नियामा कार्यरत श्रेष्ठले भाइरल दम्पतिको घरमै पुगेर आर्थिक सहयोग समेत गरेका छन् । उनले भाइरल दम्पतिको घरको अवस्था नाजुक भएकोले घर निर्माणमा सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

अमेरिकाबाट आएका श्रेष्ठले घर निर्माणका लागि पाँच हजार रुपैयाँ नगद सहयोग गरेका छन् । श्रेष्ठले सहयोग उपलब्ध गराएको रकम घर निर्माणका लागि चुलाचुलीस्थित एनएमबी बैंकमा सञ्चालन गरिएको खातामा जम्मा गरिएको छ । श्रेष्ठले भाइरल दम्पतिको घरको अवस्था अत्यन्तै दयनिय रहेकोले सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।