अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढीका कारण ६६ हजार मानिस विस्थापित

एजेन्सी । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको बाढीका कारण ६६ हजार जना विस्थापित भएका छन् । दशककै सबैभन्दा नराम्रो बाढीले कतिपयलाई बिस्थापित गराएको छ भने कतिपय घेराबन्दीमा परेर थुनिएका छन् ।

देशको सवैभन्दा ठूलो पहाड मानिने लुजन पहाडलाई समेत बाढीले प्रभावित पारेको अधिकारीले शुक्रबार जनाएका छन् । यस क्षेत्रमा यही हप्ता तीव्र गतिमा बर्षा भएका कारण बाढी तथा डुबान पनि ठूलो आएको जनाइएको छ । बाढीका कारण केही ठाउँका सडक, पुल, सहर बजार नै भत्किएका छन् भने केही ठाउँमा पुरिएका छन् ।

धेरै भौतिक संरचनामा क्षति भएपनि मानवीय क्षतिको खवर अहिलेसम्म नआएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले क्षतिको पूर्ण विवरण संकलन भइनसकेको पनि बताएका छन् । “यो बाढी यो दशककै सबैभन्दा ठूलो हो,” कागायान प्रान्तका सूचना अधिकृत रोगेलियो सेन्डीङले भने । विस्थापित भएकामध्ये कतिपयलाई आपत्कालिनरूपमा डुङ्गाबाट उद्धार गरिएको अधिकारीले जनाएका छन् ।