राजनीति

कालापानीको विषयमा कांग्रेसले साथ दिएपनि प्रधानमन्त्रीले अटेर गरे : सभापति देउवा

कावासोती, २० मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए ।

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएकोे बताए । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए । सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए ।

सभापति देउवाले भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए । अर्को एक प्रसङ्गमा पे्रस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले पे्रसमाथि हुने हमला प्रजातन्त्रमाथिको हमला भएकोसमेत उल्लेख गरे ।

कार्यक्रममा सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कार यस वर्ष नेपाललाई प्रदान गरिएको हो । नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आएको छ ।