समाचार

विभेद र द्वन्द्व अन्त्यबाट मानवाधिकार सुनिश्चित

काठमाडौँ, २० मङ्सिर । मानवाधिकारकर्मीले समाजमा हुने सबै खाले विभेद र द्वन्द्व अन्य नभएसम्म मानवाधिकार सुनिश्चित नहुने बताएका छन् । सतहत्तरौँ विश्व मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘नेपालीको मानव अधिकार, राष्ट्रिय एकता र समृद्धिको अधिकार’ विषयको अन्तरक्रियामा राष्ट्रमा उनीहरुले महँगी, भ्रष्टाचार, आर्थिक अपराध, घरेलु हिंसा, बलात्कारलगायत घटना भइरहेकाले नियन्त्रण हुन आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता जनार्दन शर्माले सविधान मानवाधिकारका पक्षमा रहे पनि कार्यान्वयन गर्ने सङ्संस्था र संरचना पुरानो ढङ्गबाट सञ्चालन भएको गुनासो गरे । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका संस्थापक अध्यक्ष मुक्ति प्रधानले नेपाली जनताले अपेक्षा गरेअनुसार सविधान कार्यान्वयन नभएको बताए ।

सांसद देवेन्द्र पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी समस्या समाधान गरेर जनताले अनुभूति हुने गरी काम अघि बढिरहेको जिकिर गरे । राष्ट्रिय मावन अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवाधिकार लागु हुनका लागि पुरातनवादी सोेचको अन्त्य हुनुपर्ने बताए । अधिवक्ता शान्तिदेवी खनालले कुन तहको नागरिकले कस्तो अधिकार पाउने भन्ने कुरा सम्पूर्ण नागरिकलाई थाहा हुन आवश्यक रहेको बताए । मानव अधिकार सरोकार केन्द्रका अध्यक्ष विश्वप्रकाश भण्डारीले न्यायापालिकाप्रति जनआस्था बढाउन सबैले सहयोग गर्नुपर्ने बताए ।