समाचार

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

काठमाडौँ, मंसिर २० । यस वर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार साइन्स इन्फोटेक अनलाइन पत्रिकाका प्रधान सम्पादक गोपाल भण्डारीलाई प्रदान गरिएको छ ।

आज आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उहाँलाई रु ५० हजार प्रदान गर्दै सम्मान गर्नुभएको हो । झण्डै एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीले विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र सूचना सरलीकृत रुपमा छापा तथा विद्युतीय माध्यममार्फत जनसाधारणसम्म पुग्ने गरी आलेख, जानकारी एवं समाचार प्रकाशन गरी योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

यसअघि भण्डारीले गोल्डेन साइन्फिक, रिभो साइन्स मासिक र साइन्स इन्फोटेक मासिक पत्रिकामा प्रधान सम्पादक रही काम गरिसक्नुभएको छ । भण्डारीका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन, चार वैज्ञानिक जगत जर्नलमा अनुसन्धानात्मक लेख, पाक्षिक पत्रपत्रिकामा करिब १०० विज्ञान तथा प्रविधिसम्बन्धी र विभिन्न अनलाइनमा लगभग एक हजार जति विज्ञान तथा प्रविधि र अन्य विषयका लेख प्रकाशित छन् ।

भौतिकशास्त्रमा स्नातकोत्तर भण्डारी अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष पनि हुनुहुन्छ । भण्डारी विभिन्न बौद्धिक, वैज्ञानिक तथा सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । भण्डारीलाई यसअघि गत असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ का अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ट योगदान पु¥याएबापत प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु १५ हजार राशिको पुरस्कारद्वारा पनि पुरस्कृत गरिएको थियो ।