खेलकुद

करणको विस्फोटक ब्याटिङले दिलायो नेपाललाई अग्रता, माल्दिभ्स ८४ रनले पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत आज छैटौं दिन पुरुष क्रिकेट टि-ट्वान्टी अन्तराष्ट्रिय खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो

माल्दिभ्सका लागि महोम्मद आजमले सर्वाधिक १७ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशी र सुसान भारीले समान दुई-दूई विकेट लिए । यस्तै पवन सर्राफले एक विकेट लिए ।

टि.यु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतीमा निर्धारित २० ओभरमा १६३ रन बनाएको थियो । 

पूर्व कप्तान पारस खड्कालाई व्यक्तिगत ११ को स्कोरमा गुमाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लले १९ रन मात्र बनाउन सके ।  आरिफ सेख १७, विनोद भण्डारी १९ आरके पौडेल १० को सामान्य योगफल रहेको उक्त खेलमा दिपक सिंह एैरे र करण केसीले नेपालको इनिङ समालेका थिए । एैरेले ३६ बल खेल्दै २ चाैकाको मद्धतले ३९ रन बनाए भने केसीले विस्फोटक ब्याटिङ गर्दै १६ बल खेल्दा ४ छक्का र २ चौकाको मद्धतले ४० रन बनाए । अन्तिम ओभरमा  २४ रन जोड्दै नेपालले माल्दिभ्स सामू सम्मानजनक १६४ रनको लक्ष्य पस्किएको थियो । 

नेपाल पहिलो खेलमा श्रीलंका यू-२३ सँग ६ विकेटले पाराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १४१ रनको फराकिलो अन्तरले पारजित गरेको थियो । नेपालले अर्को खेल भोलि (शनिबार) बंगलादेशको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।