खेलकुद

करण केसीको विस्फोटक ब्याटिङ, नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै माल्दिभ्स

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत आज छैटौं दिन भएको क्रिकेट खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।   

टि.यु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतीमा निर्धारित २० ओभरमा १६३ रन बनाएको छ ।

पूर्व कप्तान पारस खड्कालाई व्यक्तिगत ११ को स्कोरमा गुमाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लले १९ रन मात्र बनाउन सके ।  आरिफ सेख १७, विनोद भण्डारी १९ आरके पौडेल १० को सामान्य योगफल रहेको उक्त खेलमा दिपक सिंह एैरे र करण केसीले नेपालको इनिङ समालेका थिए । एैरेले ३६ बल खेल्दै २ चाैकाको मद्धतले ३९ रन बनाए भने केसीले विस्फोटक ब्याटिङ गर्दै १६ बल खेल्दा ४ छक्का र २ चौकाको मद्धतले ४० रन बनाए ।

अन्तिम ओभरमा  २४ रन जोड्दै नेपालले माल्दिभ्स सामू सम्मानजनक १६४ रनको लक्ष्य पस्किएको छ । 

खेलको दोस्रो इनिङ अन्तर्गत समाचार तयार पार्दासम्म माल्दिभ्सले १५ ओभर सकिँदा ६ विकेटको क्षतिमा ५१ रन मात्रै जोड्न सफल भएको छ ।