पु.समाचार

पाँच राउन्ड गोलीसहित पेस्तोल बरामद

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज १ थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार आज बिहान साढे १० बजे सशस्त्र प्रहरी बीओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजिक गएर हेर्दा त्यहाँबाट पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको हो ।

उनका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल एक, त्यसमा म्याग्जिन थान १ र म्याग्जिनभित्र ५ राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।

बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।