खेलकुद

भारोत्तोलनमा कमलबहादुर अधिकारी र प्रकाश केसी कास्य पदकमा सिमित

कास्की । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(सग) अन्तर्गत भारोत्तोलनमा कमलबहादुर अधिकारी तियोगितामा कास्य पदकमा सीमित भएका छन् । उनी सागको १० औँ संस्करणका स्वर्ण विजेता हुन् । 

पोखरामा आज(शुक्रबार) भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकाका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एण्ड जर्कमा दबाबमा परेका थिए । 

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लिन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लिन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए । 

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् ।

प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् । 

यस्तै  पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लिन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।

यसअघि उद्घाटनको दिन नेपालले १ स्वर्ण र २ कास्य पदक भित्र्याइसकेको छ ।