खेलकुद

महिला क्रिकेट : नेपाल स्वर्ण यात्राबाट बाहिरियो, श्रीलंकाद्वारा नेपाल ४१ रनले पराजीत

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ । शुक्रबार पोखरा रंगशालमा भएको खेलमा नेपाल श्रीलंकाको महिला क्रिकेट टोलीसँग ४१ रनले पराजित भएको हो । 

टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउँन सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक १९ रनको योगदान गरिन् । कविता कुवँरले नट आउट १३ रन बनाउँदा कविता भण्डारी १२ र अप्सरी बेगमले ११ रनको योगदान गर्दा नेपालका लागि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।  यसअघि श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रनको योगदान गरिन् । त्यस्तै, अमरतुङ्गा अनालीले ३५ र साथ्य सन्दीपनीले २२ रन जोडिन् ।

नेपालका लागि सोनु खड्काले २ विकेट लिइन् । खड्काले ४ ओभर बलिङ गर्दा १३ रन खर्चिएर दुई विकेट लिएकी हुन् । यस्तै, सरस्वती चौधरीले पनि नेपालका लागि २ विकेट लिइन् । अन्जली चन्दले १ विकेट लिइन् । 

यस हारसँगै नेपालको महिला क्रिकेट टिमको स्वर्ण पदको यात्रा रोकिएको छ ।