प्रदेश 1

छिमेकी देशका पर्यटकको आवागमन वृद्धि सरकारको धयानः मुख्यमन्त्री राई

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ ।
ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।

‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भएका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने र सरकारले त्यसतर्फ ध्यान दिने बताए ।

उनले भने “प्रदेश सरकारले आगाडि बढाएको योजनाबद्ध विकास कार्यमा सङ्घीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुने छ, ”

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।
सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।