मनोरञ्जन

नारायणगोपाल जस्ता सबै कलाकारलाई राज्यले चिन्नुपर्छ– राज्यमन्त्री

काठमाडौँ । यस वर्षकोसङ्गीतकार रञ्जित गजमेर र जगतमर्दन थापालाई प्रदान गरिएको छ । स्वरसम्राट् नारायणगोपालको २९औँ स्मृति दिवसका अवसरमा नारायणगोपाल सङ्गीत कोषले बिहीबार उनीहरुलाई रु २५ हजार र सम्मानपत्र प्रदान गरेको हो ।

स्मृति दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको नारायणगोपाल पेमला सुरमय गीतगङ्गाको शिलान्याससमेत गरिएको छ । रु ६ करोड ५० लाखको लागत अनुमान गरिएकामा यस वर्ष महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्दै भाषा, कला र संस्कृतिको विकासका लागि महानगरपालिकाले रकम विनियोजन गर्न कन्जुस्याइँ नगर्ने बताए । “यो वर्ष रु तीन करोड रकमले निर्माण कार्य गुणस्तरीय र प्रभावकारी ढङ्गले पूरा गर्नुहोस्”, उनले भने, “बाँकी रकम अर्को वर्ष थप गर्छौँ ।” उनले भाषा, कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोड्दै व्यावसायिक बन्नुपर्ने धारणा राखे । सबै कलाकार सङ्गठित भई आए कलाकारको वृत्ति विकासका लागि महानगरपालिकाले रु एक करोड अक्षयकोष सञ्चालनका लागि विनियोजन गर्ने जानकारी दिए ।

सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कलाकारिता क्षेत्रको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । “नारायणगोपाल र उहाँ जस्ता अन्य सबै कलाकारलाई राज्यले चिन्नुपर्छ”, उनले भने, “पुराना कलाकारहरुको सम्मानले नयाँलाई समेत हौसला प्रदान गर्छ ।”

कोषका महासचिव तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीले २०५४ सालमा आफू वडाध्यक्ष अध्यक्ष हुँदा लैनचौरदेखि हाल नारायणगोपालको शालिक राखिएको क्षेत्रसम्मलाई नारायणगोपाल मार्ग नामकरण गरिएको बताए । “मैले शालिक निर्माण र सडक नामकरण गरेपछि एक लेखकले नारायणगोपालले छोरा पाए भनेर लेख लेखे”, उनले भने, “नारायणगोपालको महत्वलाई उजागर गर्न म शुरुदेखि नै लागिपरेको छु, म आफूलाई सौभाग्यशाली ठान्छु ।” उनले गायिका तारादेवीको सम्मानका लागि पनि महानगरबाट रु १० लाख अक्षयकोषका लागि विनियोजन गरिएको बताए ।

कार्यक्रममा गजमेर अस्वस्थताका कारण देशबाहिर रहेकाले उनले पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो । सम्मानित थापाले स्वरसम्राट् स्मृति सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताउँदै नारायणगोपालसँग उहाँ राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि मात्र चिनजान भए पनि त्यसपछि निकटता बढेको बताए ।