पु.समाचार

न्यायपालिकाको गरिमा घटाउने गरी न्यायाधीश नियुक्त गर्ने गलत पद्धतिविरुद्ध बार आक्रमक

काठमाडौँ, १९ मङ्सिर । नेपाल बार एशोसिएशनले न्याय परिषद् र न्यायपालिकाको गरिमा घटाउने गरी न्याय परिषद्का सदस्यलाई न्यायाधीश नियुक्त नगर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “न्याय परिषद् र न्यायपालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्को सदस्यलाई न्यायाधीश नियुक्त गर्ने गलत पद्धति नबसालियोस् ।”

न्याय परिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा परिषद्का सदस्य जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आँफै सर्वोच्चको न्यायाधीश बन्न कोसिस गरिराखेकोप्रति बारले गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपालको संविधानको धारा १५३ बमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बमोजिम हुनुपर्ने र परिषद्का सदस्यले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम स्वयं जानकारी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।