खेलकुद

१३ औं साग: सञ्जु चौधरीले जितिन् स्वर्ण

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग ) नेपालकी सञ्जु चौधरीले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जु श्रीलङ्काकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा बिहीबारदेखि शुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलङ्काली खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बङ्गलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा ९० गरी १६० केजी भार बहन गर्दै कास्य पदक जित्न सफल भईन । चार देशले भाग लिएकोे सो प्रतियोगितामा पाकिस्तानको पनि सहभागिता रहेको थियो ।

एक वर्षअघि मात्र नेपाल प्रहरीमा प्रवेश गर्नुभएकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण पदक जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन । आफूलाई निकै खुसी लागेको र सोचेजस्तो ‘लिफ्ट’ लिन सकेको उहाँको प्रतिक्रिया थियो ।

साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । दशौँ संस्करणको सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।

यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । उक्त समूहमा बङ्गलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य पदक जित्न सफल भए । भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १०५ सहित १८१ केजी भार बहन गर्दै स्वर्ण पदक र बङ्गलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् ।

बङ्गलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।

पुरुष भारोत्तोलनमा कास्य पदक

साग खेलकूद प्रतियोगिताअन्तर्गत नेपाल आर्मीका तुलाराम महतोले भारोत्तोलनमा कास्य पदक प्राप्त गरेको छ । कम्तीमा रजत पदकको आशा गरिएकामा ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएको हो । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ केजी भार बहन गरे ।

नेपालसहित श्रीलङ्का र बङ्गलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलङ्काका वाईडीआई कुमाराले स्वर्ण र बङ्गलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भएका थिए ।

कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १८४ बहन गरेका हुन् ।

त्यसैगरी ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ किलो भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलङ्काली खेलाडीलाई पछि पारेका हुन् ।

श्रीलङ्काका पालुगासिङ्घेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल २६३ किलो भार बहन गरेका थिए । बङ्गलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य पदक हात पारे । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।

सङ्गीताको राष्ट्रिय कीर्तिमान

यसैबीच नेपालकी सङ्गीता राईले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । प्रतियोगितामा उहाँले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको कीर्तिमान भङ्ग गरिन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरिन् ।

यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।