खेलकुद

महिला फुटबलमा सावित्राको कीर्तिमान

कास्की, १९ मङ्सिर । नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गरेकी छन् । आज माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गरेकी हुन् । यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ ।

सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीपमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएकी सावित्राले भुटान विरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि उनी नेपाली फुटबलमा चर्चाको शिखरमा पुगेकी थिइन् । डेब्यु खेलमै गोल गर्नु जुनसुकै खेलाडीका लागि पनि कठिन हुने गरे पनि उनले त्यो अवसर प्राप्त गरिन । त्यसयता सावित्रा लगातार नेपाली टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आएकी छन् ।

भारतको गुहावटीमा सन् २०१६ मा भएको १२ औँ सागमा उनले दुई गोल गरिन् भने सोही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा सर्वाधिक १२ गोल गरिन् । त्यसक्रममा उनी भुटान विरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्स विरुद्ध पाँच गोल गर्न सफल भएकी थिइन् । सावित्राले सन् २०१८ को ओलम्पिक छनोटमा दुई तथा सन् २०१९ मा किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा सात गोल गरेकी थिइन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनको गोल सङ्ख्या दुई रहेको छ ।

गोल सङ्ख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने भण्डारीको भनाइ छ । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उनले भनिन्, “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।”

जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का विरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उनको भनाइ छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक खड्काले भण्डारीले महिला फुटबलमा नयाँ कीर्तिमान राखेकोमा बधाई दिँदै समग्र टोलीको कुशल प्रदर्शनले खेलाडीलाई सफल बनाउँदै लगेको उल्लेख गरे । भण्डारीमाथि नेपाली फूटबलको ठूलो भरोसा रहेको चर्चा गर्दै उनले त्यो विश्वास र भरोसालाई पूरा गर्न उनी सक्षम हुने विश्वास व्यक्त गरे ।