खेलकुद

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा

कास्की, १९ मङ्सिर । आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेल अगावै छ अङ्क जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गरेकी हुन् ।

सावित्राले खेलको १८ औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोलिन् । पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पारिन् ।

मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फालेन र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याए ।

आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ । यही मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महत्वपूर्ण तीन अङ्क जोड्ने रणनीतिसहित मैदानमा उत्रिएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे । आफूहरुको ध्यान अब फाइनलमा केन्द्रित भएको बताउँदै उनले लिगको अन्तिम खेलमा केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सङ्केत गरे ।

माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले बलियो नेपाली टोलीलाई जित्ने लक्ष्यअनुसार आफ्नो टोलीले प्रयास गरे पनि सफल हुन नसकेको प्रतिक्रिया दिए ।