खेलकुद

आजबाट पौडी शुरु : डुआनाद्वारा आफ्नै रेकर्ड तोड्दै नयाँ कीर्तिमान

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा आज(बिहिबार)बाट पौडी खेल शुरु भएको छ । पहिलो दिन आज हिट चरणमा डुआना लामा र एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गरेकी छिन  । उनले आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै आज २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।उनी हिटमा दोस्रो स्थानमा रहँदै अन्तिम चरण प्रवेश गरेकी छन् ।

एलेक्सले २ सय मिटर फ्रि स्टाइलमा शीरिष गुरुङको कीर्तिमान तोडेका छन् । एलेक्सले निर्धारित दुरी २ मिनेट २.३० सेकेन्डमा पूरा गर्दै यसअघि शिरिषले सन् २०१४ को १२ औं फिना विश्वकपमा २ मिनेट ६.३५ सेकेन्डमा बनाएको कीर्तिमान तोडेका हुन् ।

आजबाट शुरु भएको पौडीमा नेपालले आज आठ इभेन्टको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । चार स्पर्धामा हिट चरणको प्रतिस्पर्धा थियो भने चार स्पर्धामा सीधै अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ ।

पुरुष २ सय मिटर फ्रिस्टाइलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्दा महिलातर्फ तिसा शाक्य र गौरिका सिंहले फाइनलमा खेल्दैछन् । पुरुषको २ सय मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल र शुभम श्रेष्ठले प्रतिस्पर्धा गर्दा महिलातर्फ डुआना लामा र अदिप्षा वैध भिड्नेछन् ।