खेलकुद

सागको पाचौं दिन आज: नेपालको स्वर्ण संख्या ३१ पुग्यो

laksmi-magar-13th-saag-gold-medalist

काठमाडौं । १३‌ औँ दक्षिण एशियाली खेलकुद(साग)मा बिहीवार नेपालले थप् स्वर्ण पदक हासिल गरेको छ । क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण पदक जित्दा उषा खनालले रजत पदक जितिन्। यस  जितसँगै नेपालले स्वर्ण पदकको सङ्ख्या ३१ पुगेको छ ।

बुधवार भएको डाउनहिल साइक्लिङमा नेपालले दुई स्वर्णसहित ५ पदक जितेको थियो। पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका थिए।

निमाको दोस्रो स्वर्ण :

यसअघि आज निमा घर्तीमगरले उसुमा स्वर्ण पदक जितेकी थिइन्। उसुको थाउलोअन्तर्गत नान्दौमा बिहीवार उनले बङ्ग्लादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी हुन्।

निमा घर्तीमगर लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी हुन् । 

घर्तीमगरले भारतमा भएको १२औँ सागमा पनि उसुमा स्वर्ण जितेकी थिइन्। उनले १८.१९ अङ्क प्राप्त गरिन् भने अख्तरले १६.३ अङ्क जोडिन्। श्रीलङ्काकी सञ्जु कुमारीले काश्य पदक हात पारिन्।

निमा घर्तीमगर

निमा घर्तीमगर

सागको चौंथो दिन अर्थात बुधबार नेपालसँग २९ स्वर्ण पदक रहेको थियो । हाल अग्रस्थानमा रहेको भारतसँग समाचार तयार पार्दासम्म ३४ स्वर्ण रहेको  छ ।

हिजो( बुधबार) नेपालले तेक्वान्दो र साइक्लिङमा २/२ तथा कराँते र उसुमा १/१ स्वर्ण गरी जम्मा ६ स्वर्ण जितेको हो। तर भारतले हिजै १७ स्वर्ण जितेर पदक तालिकामा नेपाललाई दोस्रो स्थानमा पुर्यायो। नेपाल अघिल्ला दुई दिन पहिलो स्थानमा रहेको थियो।

बुधवारसम्म भारतले ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित कुल ७० वटा पदक जितेको थियो भने नेपालले २९ स्वर्ण १५ रजत र २५ काश्यसहित ६९ वटा पदक हात पारेको थियो। भुटानबाहेक सबै सहभागी राष्ट्रले स्वर्ण पदक जितेका छन्। माल्दिभ्स -१, बंगलादेश-४, श्रीलंका-८ र पाकिस्तान-९ वटाको संख्यामा स्वर्ण जितेका छन्  ।