खेलकुद

नेपालको फराकिलो जीत : भुटान ६ विकेटको क्षतिमा ९५ रनमै समेटियो

काठमाडौं । नेपालमा जारि दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज भएको खेलमा नेपाली क्रिकेट टीमले भुटानलाई निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा ९५ रनमै समेट्न सफल भएको छ । भुटानलाई सस्तैमा समेट्नमा नेपाली बलरहरूको उत्कृष्ट योगदान रह्यो  ।

नेपालको ब्याटिङमा पारस खड्काको अर्धशतक र ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले ठूलो लक्ष्य बनाउन सकेको थियो । मल्लले ५ चौका र ९ छक्का प्रहार गरे । उनी १०७ रन हानेर आउट भए । कप्तान मल्लको शतकको मद्दतले नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ ।

यसअघि पूर्वकप्तान पारस खड्काले टी–ट्वान्टीमा सतक प्रहार गरेका थिए । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए ।

रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन प्रहार गरे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

कप्तान मल्ल आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे ।

पहिला ब्याटिङ गर्दै ३ विकेट क्षतिमा २३६ रनलाई पछ्याउने क्रममा भुटान ९५ रनमै समेटिन पुग्दा नेपालले १४१ रनको फराकिलो जीत हासिल गर्यो । यस अघि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।