कर्णाली प्रदेश

फिस्टुला रोगबारे अभिमुखीकरण

दैलेख । महिलाहरुमा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोगबारे अभिमुखीकरण तालीम दिएको छ ।

नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ ।

फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनाश्यक प्वाल हो । महिलाहरुमा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुनेगर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव ब्यथा लाग्दा शिशुको टाउकोको दबाबले पिशाब थैलीमा वा मलाशयमा प्वाल पर्छ ।

सन्तान जन्माइ सकेपछि सुत्केरीलाई लगातार पिसाव बगिरहने हुन सक्छ । मलाशयमा परेको दवाबले गर्दा गर्दा कहिले कहिले दिसा पनि चुहिने हुन सक्छ । यसरी दिसा र पिसाव दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिक रुपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।

महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिएका छन् ।

उनले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ ? त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताए ।