राजनीति

यसकारण रोक्यो भारतले माधव नेपालको दिल्ली भ्रमण

काठमाडौं  । नेपाली भूमी समेत समेटेर भारतले पछिल्लोपटक  जारी गरेको नयाँ राजनैतिक नक्साका बारेमा भारतसंग औपचारीक कुराकानी गर्न विशेष दूत बनेर भारत जान लागेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण तत्कालका लागि रोकिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष कुराकानी गर्ने कार्यक्रम तय भइसकेको भएता पनि भारतीय पक्षले प्रधानमन्त्री मोदीसँग भेटका लागि समय नदिएपछि नेता नेपालको तत्कालका भ्रमण रोकिएको हो।

‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले  समय दिएको छैन।’ मंसिर ४ गतेको नेकपा सचिवालय बैठकमा माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने विषयमा छलफल भएको थियो।

छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए। यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन्। नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन्।

भारतीय नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक  परेपछि मुलुकभर त्यसको विरोध भइरहेको छ। नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए। बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने भन्दै सार्वजनिक रुपमा  अभिव्यक्ति दिएपछी प्रधानमन्त्रीको सो भनाईलाई लिएर भारतभर चर्चा भएको थियो ।