समाचार

फरार सात थुनुवामध्ये तीन पक्राउ

सिरहा । इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए ।

फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

फरार रहेका अन्य चार थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो । थुनुवा फरार भएको घटना छानविन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोलीसमेत गठन गरिएको छ । खैरो हिरोइनसहित चार युवक पक्राउ प्रहरीको टोलीले आज साँझ सिरहाको गोलबजार नगरपालिका–३ बाट प्रतिबिन्धित लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ निवासी १८ वर्षीय बालकृष्ण साह, गोलबजार–३ निवासी १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उहाँका भाइ १८ वर्षीय निलमकुमार साहलाई पक्राउ गरेको हो ।

खैरो हिरोइनको खरीद बिक्री गरिरहेका अवस्थामा ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । पक्राउ परेकाको साथबाट ८१ पोकामा करीब चार ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।