राजनीति

नेता घिमिरेको आग्रहः देशलाई बिरामी होईन १८ घण्टा खट्ने स्वस्थ्य प्रधानमन्त्री चाहिएको छ राजीनामा दिनुस्

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । नेता घिमिरेले अहिले देशलाई १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री चाहिएको छ। तर दुखको कुरा यतिबेला राष्ट्रको पुरा ध्यान तपाईंको स्वास्थ्यमा केन्द्रित छ र देश नैं अनिर्णयको बन्दी जस्तो भएको छ भन्दै राजीनामाको माग गरेका हुन् ।

नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “प्रधानमन्त्री ज्यू, तपाईं चाँडै स्वस्थ हुनोस्, हाम्रो कामना छ। तपाईं त भौतिकवादी, त्यसैले ईश्वरको अस्तित्वलाई स्विकार गर्नु हुन्न। तर हामी बिश्वास गर्छौं। त्यसैले उनै परब्रह्म परमेश्वरको अनुकम्पा र मेडिकल साइन्सको अथक प्रयासले तपाईंको स्वास्थ्य ठिकठाक होस र तपाईले भनेजस्तै आउने १५ बर्षसम्म राजनीतिक अखडामा जम्नोस। तर आफ्नो स्वास्थ्य र प्रधानमन्त्रीको गहन राष्ट्रिय जिम्मेवारीलाई ख्याल गर्दै हाललाई पदबाट राजिनामा दिनोस्। अहिले देशलाई १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री चाहिएको छ। तर दुखको कुरा यतिबेला राष्ट्रको पुरा ध्यान तपाईंको स्वास्थ्यमा केन्द्रित छ र देश नैं अनिर्णयको बन्दी जस्तो भएको छ। सिमा अतिक्रमण जस्तो संवेदनशील र गम्भिर बिषय अलपत्र छ। यो परिस्थिति देश र जनताका निम्ति दुर्भाग्यपूर्ण हो। कम्तिमा ६ महिना स्वास्थ्य उपचारमा लगाएर पूर्ण स्वस्थ भई पुनः प्रधानमन्त्री हुन यो पाँच बर्षभित्र तपाँईलाई कसैले रोक्न सक्दैन। गम्भीररूपमा अस्वस्थ हुँदा हुँदै पदमा बसिरहने हठ देखाउनुभयो भने आउने पुस्ताले तपाँईलाई आफ्नो जीवनलाई उच्च जोखिममा राखेर पदमैं टाँसीईरहने नेताको रूपमा स्मरण गर्नेछ।”