अन्तर्राष्ट्रिय

आपसी सहयोग र सहकार्यबाट वातावरणीय समस्यासँग जुध्न सकिन्छ – डा. जाभेद

Pakistani envoy to Nepal Dr Mazhar Javed

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत डा. मजार जाभेदले जलवायु परिवर्तनलगायत वातावरणीय समस्यासँग आपसी सहयोग र सहकार्यबाट जुध्न सकिने धारणा व्यक्त गरेका छन् ।

हालै पाकिस्तानमा सम्पन्न प्रकृति संरक्षणका लागि विश्व सङ्घ(आइयुसिएन)को क्षेत्रीय सम्मेलनका बारेमा जानकारी दिन ‘होस्टे हैँसे’ नामक संस्थाले आज  आयोजना गरेको अन्तरक्रियामा राजदूत जाभेदले वातावरणीय चुनौती र यसले जनजीविकामा पारेको असर न्यूनीकरण गर्न दुवै देशले जनचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

राजदूत जाभेदले नेपाल र पाकिस्तानबीच ६० वर्षदेखि रहँदै आएको मैत्रीसम्बन्धलाई जनस्तरमा विस्तार गर्दै लैजान यस्ता सभा सम्मेलनले सहयोग पुग्ने बताए । सम्मेलनमा नेपालका विभिन्न गैरसरकारी संस्थाका २४ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

आइयुसिएनका राष्ट्रिय प्रतिनिधि प्रह्लाद थापाले वातावरण संरक्षणका क्षेत्रमा सरकारलाई नीतिगत सहयोग गर्न र विश्वव्यापीरुपमा भएका सफल अभ्यासलाई स्थापित गर्ने काममा सहकार्य हुँदै आएको जानकारी दिए ।

आयुसिएनको राष्ट्रिय कमिटीका अध्यक्ष तथा दक्षिण पूर्वीय एशियाका सचिव डा. ऋषि शाहले वातावरण संरक्षणका क्षेत्रमा राज्यको मुख नताकी जनस्तरबाटै प्रशस्त कार्य गर्न सकिने बताउँदै नेपाल–पाकिस्तान सम्बन्धलाई जनस्तरमा लैजान गैससले महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा व्यक्त गरे ।

होस्टे हैँसेका कार्यकारी निर्देशक कृष्ण शाहले इस्लामावादमा सम्पन्न आइयुसिएनको क्षेत्रीय सम्मेलनबाट वातावरण संरक्षणका क्षेत्रमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए ।